तनहूँ जिल्लाको उत्तरी भेगमा पर्ने भानु नगरपालिका वार्ड नं. ११ मानेचौकामा अवस्थित श्री त्रिभुवन मा.वि. नाउँदी उपत्यकाको रमणीय स्थानमा रहेको छ । २०१७ सालमा स्थापना भएको यस विद्यालय २०२७ मा मा.वि. सञ्चालन भएको हो भने २०४९ मा कक्षा ११ को सम्बन्धन लिई कक्षा ११ १२ सञ्चालन गर्ने तनहुँको पहिलो विद्यालय हो ।
हाल यस विद्यालयमा बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ । कक्षा ११ र १२ मा शिक्षा एवं व्यवस्थापन संकायका कक्षाहरु सञ्चालित छन् । वर्तमान परिवेशमा साधारण शिक्षाले मात्र सेवा क्षेत्रको आवश्यकता र राष्ट्रको प्राविधिक विषयको पठनपाठनलाई सम्बोध गर्न नसकेकाले देशको आवश्यकता र स्वरोजगार मुलक जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ कृषितर्फ मध्यम स्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७३ बाट प्राविधिक धारतर्फ CTEVT बाट सम्बन्धन लिई डिप्लोमा इन एग्रिकल्चर (आई.एस.सी. एजी. बाली विज्ञान) कक्षा सञ्चालन गरिएको छ भने २०७५ बाट डिप्लोमा इन एग्रिकल्चर (आई.एस.सी. एजी. पशु विज्ञान) कार्यक्रम सञ्चालन गरिएको छ ।
हाल यस विद्यालयमा प्राविधिक तर्फ डिप्लोमा इन एग्रिकल्चर Plant Science तृतीय वर्षमा ४० जना, द्वितीय वर्ष Plant Science मा २१ जना, द्वितीय वर्ष Animal Science मा १५ जना र प्रथम वर्ष Plant Science and Animal Science मा हाल ३० जना भर्ना भई सकेका छन् भने भर्ना हुने क्रम निरन्तर रहेको छ ।
नेपाल सरकारले देशमा प्राविधिक शिक्षा मार्फत मध्य स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने जिम्मेवारी CTEVT मा सञ्चालित प्राविधिक शिक्षालयहरुले चर्को शुल्क लिई पठन पाठन गराउँदा गरिब तथा पिछडिएका वर्गहरुको पहुँच नपुग्ने भएकाले नेपाल सरकार र CTEVT को लक्ष्य अनुसार TECS(Technical Education in Community School) कार्यक्रमका रुपमा यस विद्यालयले सहयोग गर्दै आइरहेको छ । विद्यालयको आन्तरिक स्रोत मजबुत नहुनु, विद्यार्थीहरुको शुल्कबाट प्रशिक्षक एवं कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउन धौ धौ पर्नु जस्ता कारणले विद्यालयका छात्राछात्रहरुलाई आवश्यक प्रयोगात्मक कार्य गर्न फिल्ड निर्माण लगायत विज्ञान प्रयोगशाला, पशु उपचार कक्ष, पशुपालन कक्ष जस्ता भौतिक सुविधा निर्माण गर्न कठिन भईरहेको यर्थाथलाई मध्यनजर गरी राष्ट्रिय एवं अन्र्तराष्ट्रिय संघसंस्थासँग सहयोगको अपेक्ष गरिन्छ ।

हिरामणी ढुङ्गाना
प्रधानाध्यापक